चितवन महोत्सवको नाफा ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली क्रिकेट रङ्गशालालाई सहयोग

Bhim Thapa Sports/खेलकुद , ५ वर्ष अगाडि

चितवन, १० जेठ । चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज यहाँ खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी गरेको जानकारी दिएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले फाउण्डेसनसहित विभिन्न सङ्घसंस्थालाई रु ७१ लाख १३ हजार सहयोगपश्चात् रु ६९ लाख ९९ हजार ७९१ बचत भएको जानकारी दिनुभयो ।

प्रधानले क्रिकेट रङ्गशालाका लागि रकम थप गरी रु एक करोड पु¥याइने बताउनुभयो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण गरिँदैछ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो ।

खर्च विवरणअनुसार भरतपुर महानगरपालिका आयोजक भएर पनि महोत्सवले महानगरलाई कर भुक्तानी गरेको छ ।