प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

Bhim Thapa Sports/खेलकुद , ३ वर्ष अगाडि

काठमाडाैं । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जित्नुभएको छ । उहाँले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।

सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभयो । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा गर्नुभयो ।

पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गर्नुभयो । उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कारस्वरुप प्राप्त गर्नुभयो । सो पुरस्कारको प्रायोजन मेगा बैंकले गरेको हो ।

फुल म्याराथनतर्फ खगेन्द्र भाटले चौथो, नवराज साउदले पाँचौँ, ज्ञानप्रसाद भट्टराईले छैटौँ, देवराज महतराले सातौँ, सागर बुढाथोकीले आठौँ, रमेश मगरातीले नवौँ तथा प्रेम बस्नेतले १०औँ स्थान प्राप्त गर्नुभयो । यसैगरी हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजेन्द्र राई पहिलो हुनुभयो । उहाँले २१ किलोमिटर दौड एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पूरा गर्नुभयो ।

यस्तै सेनाकै राजन रोकाय एक घण्टा सात मिनेट ११ सेकेण्डमा उक्त दूरी पूरा गर्दै दोस्रो तथा सेनाका नरेन्द्र रावलले एक घण्टा आठ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरुले क्रमश ः रु ७५ हजार, रु ५० हजार तथा रु ३५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । सो पुरस्कारको प्रायोजन एनआइसी एशिया बैंकले गरेको हो ।