काठमाडाैं । संसदको बुधबार सुरु हुने अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कडा रुपमा प्रस्तुत हुने भएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख अग्नि सापकोटा र अध्यादेशबारे कडा रुपमा प्रस्तुत हुने बताएका हुन् ।
उनले सभामुख, निर्वाचन आयोग र सरकारको अपराधिक गठबन्धनले एमाले विभाजनमा षडन्त्र गरेको आरोप लगाए । उनले आफूहरुले साउन २५ मै निष्कासन गरिसकेको व्यक्तिले एमाले विभाजन गरेको र त्यसलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै आक्रोश पोखे । उनले ती १४ जना सांसद संसदमा उपस्थित भए संसद चल्न नदिनेसमेत बताए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालसहित १४ जनालाई एमालेले कारबाही गरेको थियो ।
उनले आफूहरुले निष्कासन गरेका व्यक्तिलाई समावेश गरेर एमाले विभाजन गरिएको आरोप लगाए ।
अध्यक्ष ओलीले राजनीति दल सम्बन्धी अध्यादेश जारी गरिएको विषयमा पनि आक्रोश पोखे ।उनले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको आरोप लगाए ।
उनले सभामुखको भूमिका प्रमुख प्रतिपक्ष दल विरुद्ध, एमाले विरुद्ध, गठबन्धनको पक्षधर र षडयन्त्रको मतियार भएको बताए । उनले सभामुखको टेबुलबाट षडयन्त्र भएको बताए ।

