ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ ।

दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । विष्ट भन्नुहुन्छ, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।”

मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाउनुभएको छ । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गर्नुभएको छ ।

यसअघि उहाँले दुईपटक फल बिक्री गरिसक्नुभएको छ । अब तेस्रो पटकको पर्खाइमा हुनुहुन्छ । “अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “तर यसमै पनि निकै मेहेनत हामीले ग¥यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।” ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ । यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आउनुभएको छ ।

अहिलेसम्म उहाँले दुईपटकमा गरेर सरदर रु २०–२० लाख आम्दानी गरेको बताउनुहुन्छ । एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ । बिरुवाबाट त्यस्तै रु पाँच लाख जति आम्दानी भएको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो । उहाँपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै खेती गर्न चाहे । स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “बजार राम्रो छ, यहाँबाट काठमाडौँलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन ।” करिब रु एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ । उहाँले तीन जनाको सहकार्यमा उक्त खेती सुरु गरेको बताउनुभयो । यसअघि पनि उहाँ कालो धानको खेती गरेर चर्चामा आउनुभएको थियो । भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आउनुभएका उहाँ दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा हुनुहुन्छ । दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले पछिल्ला युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत बताउनुभयो । “अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ”, उहाँले भन्नुभयो, “तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहेनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गर्नुभएको छ ।” आफूले दाङमा यो खेती सुरु गरेपछि धेरैले यो खेतीमा चासो देखाएको समेत बताउनुभयो ।