काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।
हासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दसैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । ‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,’ उनले भने, ‘उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।’
स्वारका अनुसार शुक्रबारसम्म दसैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी रविन कार्कीले दसैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ भइरहेको जानकारी दिए ।रासस

