कोकाकोलाविरुद्ध ७ अर्ब ४३ करोड ६३ लाखकाे कर छली मुद्दा दायर

NewsBankNepal Banner Headline with Image , ३ वर्ष अगाडि

काठमाडाैं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर भएको छ ।  कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

उच्च अदालत पाटनका प्रवक्ता ठगिन्द्र कट्टेलका अनुसार विभागले २०७१ सालमा कम्पनीको सेयर विक्री गर्दा भएको लाभको कर नबुझाएको भन्दै कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ बिगो र त्यसको सत प्रतिशत जरिवाना गरेर कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर भएको बताए ।

 नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ ।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ । ७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन, २०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छलि गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।

विभागले लामो अध्ययन र अनुसन्धानपछि शुक्रबार मुद्दा दायर गरेको हो ।