केन्याविरुद्ध एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Sports/खेलकुद , २ वर्ष अगाडि

काठमाडाैं । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो ।

यससँगै नेपालले सिरिज ३–० ले जितेको छ । यसअघि नेपाल पहिलो खेलमा सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । केन्याले दिएको दुई सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धसतकीय इनिङ्स खेल्नुभयो । अर्जुनले ५८, आसिफले ५६ र वसिरले अविजित ५२ रन बनाउनुभयो । यस्तै कप्तान रोहित पौडेलले अविजित ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाउनुभयो । बलिङमा केन्याका भिराज पटेल, सेम एन्गोचे र याश तालातीले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन बनाउनुभयो । लुकास एनडानडासनले अविजित ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ र कप्तान शेम एनगोचे १७ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई दुई विकेट लिनुभयो । वसिर अहमद र साहब आलमले एक एक विकेट झार्नुभयो । यसअघि नेपालले केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो ।