माओवादीले सरकार गठनमा सबै विकल्प खुला राख्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ ।

समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ । तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उहाँले जानकारी दिए । उपाध्यक्ष महराका अनुसार हाल कायम रहेको गबठन्धनलाई पनि कायम राख्दै अन्य विकल्पमा पनि छलफल गर्न खुला रहेकामा जोड दिइएको छ ।

उनले भने, “नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन छाड्ने भन्ने होइन, तर सरकार गठनका सम्बन्धमा भने सबै पक्षसँग खुलारूपमा छलफल गर्छौँ ।” तर उहाँले गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै धारणा नआएको बताए ।

माओवादीका अर्का नेता मातृकाप्रसाद यादवले भने प्रारम्भिकरूपमा छलफल सुरु भएको र नेताहरूले आ–आफ्नो धारणा राख्ने काम भएको जानकारी दिए । उनले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको भन्नेमा भने सबैको एकमत रहेको बताए ।

समग्र निर्वाचनको अवस्थाका बारेमा छलफल भएको उल्लेख गर्दै उनले गठबन्धन कायमै रहेको र त्यसमा हाल कुनै थप निर्णय नभएको बताए । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभामा ५३ स्थानमा विजयी भएको छ ।