‘नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस्’

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छिन् । 

दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडाैं आएकी उनले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरुले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताए ।

 भ्रमणका दौरान प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेट भएको र सो अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको उपविदेशमन्त्री नुल्यान्डले जानकारी दिए ।

सो अवसरमा उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कार्यान्वयनको आगामी कदम, सङ्क्रमणकालीन न्याय प्रक्रिया, नेपालमा अमेरिकी लगानी बढाउने वातावरण निर्माणलगायत विषयमा छलफल भएको उनको भनाइ थियो ।

 उपविदेशमन्त्री नुल्यान्डले नेपालको लोकतन्त्र सुदृढीकरण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक वृद्धिलगायत क्षेत्रमा अमेरिकाले सहयोग र सहकार्य गर्दै आएको बताउँदै आगामी पाँच वर्षमा नेपालमा हरित ऊर्जा, विद्युतीकरण, साना तथा मझौला महिला उद्यमका क्षेत्रमा गर्ने सहयोगका बारेमा जानकारी गराउन पाउँदा गौरव महसुस गरेको बताइन्। उनले आजै ललितपुरको पाटन दरबार स्क्वायरस्थित पुरातात्विक महत्वका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकी थिइन् ।