राष्ट्रिय सभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता,कांग्रेसले उम्मेदवारी दिने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष पद खाली रहेको थियो  । 

२०७५ साल असार ४ गते राष्ट्रियसभाका सदस्यहरुको कार्यकालका लागि भएको गोलाप्रथामा उपाध्यक्ष दाहाललाई ४ वर्षे कार्यकालको चिठ्ठा परेको थियो । यता राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भने गोलाप्रथा गर्दा ६ वर्षको चिठ्ठा परेका कारण उनको अझै १ वर्ष कार्यकाल बाँकी रहेको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्नेछ । जसका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।