एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनाेट

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Sports/खेलकुद , १२ महिना अगाडि

काठमाडाैं ।नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ ।मंगलबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको छ । 

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुलसनले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक ७५ बलमा पूरा गरेका थिए । 

गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए । 

सुरुआत राम्रो हुन नसकेको नेपालका दुवै ओपनर सस्तैमा आउट भएका थिए । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा रोहन मुस्तफाले एलबीडब्लु धरापमा पारे । 

अर्का ओपनर आसिफ शेखले आयान खानको बलमा ८ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए । युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए । 

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । 

रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।

युएई ३३ दशमलब १ ओभरमा १० विकेट गुमाएर १ सय १७ रन बनाएकाे थियाे ।

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।  एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।