यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ हप्ता अगाडि

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताउनुभएको छ ।

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सवस्टेसनको आज उद्घाटन गर्दै उहाँले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको जानकारी दिनुभयो । “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदैछ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।” उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको जनाउँदै प्रधानमन्त्री दाहालले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरु गरिरहेको जानकारी दिनुभयो ।

विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्री दाहालले भन्नुभयो, “विकास आयोजनाको काम रोकिनुहुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजना अगाडि बढाउन महत्वपूर्ण निर्णय गर्नै पर्नेछ ।” उहाँले विकास निर्माणको कार्यमा बाधक नभई व्यावहारिक बनिदिन अनुरोधसमेत गर्नुभयो ।