काठमाडाैं । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेर आफू निकालिएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको समेत बताए।
नेता रावलले पार्टीले साधारण सदस्य समेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रिया अनुरूप नरहेको पनि जिकिर गरे ।
कार्यक्रममा रावलले अधिकांश समय अध्यक्ष ओलीको आलोचना गरेका थिए । ओलीको दम्भ र निषेधको नीतिले निरंकुशताको झल्को दिने उल्लेख गर्दै उनले ओलीसँग कात्तिकमा वार्ताको प्रयास गरे पनि असफल भएको बताए । नेकपामा द्वन्द्व चर्काउनेदेखि पार्टी गतिविधिमा निषेध गर्नेसम्मका गतिविधि सबैको जवाफ ओलीले दिनुपर्ने नेता रावलको भनाइ छ ।
उनले ठूला दल सिद्धान्तहीन बाटोमा हिँडेको पनि आरोप लगाए । ठूला पार्टीमा पद लिने होड भएको उल्लेख गर्दै रावलले देशव्यापी भ्रष्टाचार बढेको र भ्रष्टाचारमा संलग्न ठूला भनिएकालाई जोगाउन प्रयास भइरहेको बताए । उनले अहिलेको सरकारले समाजवाद ल्याउने कुरा गरे पनि नपत्याउन आग्रह गरे।
पार्टी मुख्यालय व्यवसायी मीनबहादुर गुरुङको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले गत बुधबार कारबाही गरेको थियो ।

