मिसाइल हानाहान : पाकिस्तानको ८ वटा मिसाइल भारतले पार्‍यो निष्क्रिय

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , प्रवास , १ महिना अगाडि


काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा तनाव चुलिँदै गएको छ। दुवै देशका सेनाले बिहीबार राति एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । जम्मु–कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न स्थानहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको भारतीय पक्षको दाबी छ। भारतीय सुरक्षा एजेन्सीका अनुसार पाकिस्तानी सेनाले सुसाइड ड्रोन र मिसाइलमार्फत विभिन्न सैन्य स्थानहरूलाई लक्षित गरेर आक्रमण गरेको हो।

जम्मुस्थित एयरपोर्ट र पठानकोटस्थित वायुसेना स्टेसनलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणलाई भारतीय हवाई सुरक्षा प्रणाली ले आकाशमै नष्ट गरिदिएको जनाइएको छ। यसले सम्भावित ठुलो क्षतिलाई टारेको भारतीय अधिकारीहरूले बताएका छन्।

साथै, सीमा क्षेत्रमा गोलाबारी पनि तीव्र बनाइएको छ। जम्मु क्षेत्रको आरएसपुरा सेक्टरमा पाकिस्तानले भारी शेलिङ गरिरहेको छ। यस्तै, कुपवाडा र बारामुला जस्ता संवेदनशील क्षेत्रहरूमा पनि गोलीबारी भइरहेको छ। भारतीय सेनाले यस्ता आक्रमणको सशक्त जवाफ दिइरहेको जनाएको छ। पाकिस्तानले बिहीबार राति फेरि भारतको जम्मु क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। भारतीय सरकारी टेलिभिजन च्यानल डीडी न्यूजले रक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको अनुसार पाकिस्तानले जम्मुको सतवारी, सांबा, आरएस पुरा र अर्निया क्षेत्रलाई लक्षित गर्दै आठवटा मिसाइल प्रहार गरेको हो। ती सबै मिसाइलहरू भारतीय एयर डिफेन्स प्रणालीले सफलतापूर्वक नष्ट गरेको जनाइएको छ।

जनतालाई घरभित्रै बस्न अपिल

बीबीसीकी संवाददाता दिव्या आर्याका अनुसार जम्मु–कश्मीरको राजौरी र पुंछ क्षेत्रमा पूर्ण ब्ल्याकआउट गरिएको छ। त्यहाँका अधिकांश घाइते र हताहतहरू यिनै क्षेत्रहरूबाट आएका छन्। पुंछमा एयर रेड सायरन बजाइएको छ भने जम्मु शहरमा राति ८:४५ बजेदेखि एयर रेडको सूचना आउन थालेको थियो।

दिव्याले भनिन्, “हामी बिहान जम्मुका ती गाउँहरूमा गएका थियौं जहाँका बासिन्दाहरू सुरक्षित स्थानतर्फ सरेका थिए। त्यहाँ र आसपासका क्षेत्रमा एकैपटक धेरै विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि सम्पूर्ण क्षेत्रमा बत्ती काटिएको थियो र केवल व्हाट्सएप कल सेवा मात्र चलिरहेको थियो। बासिन्दाहरूले पठाएका भिडियोहरूमा आकाशमा साना चम्किला बत्तीहरू देखिन्थे जसलाई उनीहरूले ड्रोन भएको अनुमान गरेका छन्।”

जम्मु एयरपोर्टमा विस्फोट, शहरमा आतंक

जम्मु शहरदेखि झण्डै डेढ घण्टाको दूरीमा पर्ने कठुआ क्षेत्रमा पनि ब्ल्याकआउट गरिएको छ। त्यहाँ कम्तीमा दुईवटा विस्फोट भएको पुष्टि स्थानीय बासिन्दाहरूले गरेका छन्। उनीहरूले आकाशमा ड्रोन देखिएको दाबी पनि गरेका छन्। जम्मु हवाई अड्डेमा विस्फोट भएको खबर आएको छ। त्यहाँ नजिकै रहेको गुज्जर नगर पुलका एक प्रत्यक्षदर्शीले १६ वटा वस्तु आकाशबाट खसेको देखेको बताएका छन्।

एएफपी समाचार एजेन्सीलाई एक सुरक्षा स्रोतले एयरपोर्टमा विस्फोट भएको पुष्टि गरेका छन्। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बजार बन्द भएको, मानिसहरू दौडिएको, सायरन बज्न थालेको र सहरभरि बत्ती गएको बताएका छन्।

सेना सतर्क, एयर डिफेन्स सक्रिय

भारतीय सेनाले जम्मु, पठानकोट र ऊधमपुरका सैन्य बेसहरूमा पाकिस्तानले मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ। यद्यपि ती सबै आक्रमणहरूलाई नाकाम पारिएको बताइएको छ। हालसम्म कुनै जनधनको क्षति भएको छैन। चंडीगढ़ प्रशासनले पनि एयर रेड सायरन सक्रिय गरिएको जनाएको छ र तत्काल ब्ल्याकआउट लागू गरिएको छ।

आईपीएल खेल स्थगित
योबीच धर्मशालामा भइरहेको आईपीएल क्रिकेट खेल पनि प्रभावित भएको छ। पंजाब किंग्स इलेभन र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल क्रिकइन्फोका अनुसार बीचमै रोकिएको हो।

स्थानीय प्रशासनको अपिल
राजौरीको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल X (ट्विटर) मार्फत जनतालाई ब्ल्याकआउट सुनिश्चित गर्न अनुरोध गरेको छ। सबै बाहिरी बत्तीहरू निभाउन र झ्यालहरूबाट प्रकाश बाहिर नजान दिनेगरी ढाक्न आग्रह गरिएको छ।