काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र शुक्रबार थुनामुक्त भएका छन्। न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले झन्डै पाँच घण्टा लामो सुनुवाइपछि मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो।
रिहा भएपछि मिश्रले अदालत परिसरमै थुनुवा ज्याकेट खोलेका थिए।करिब साढे ६ घण्टापछि उनले ५० दिनदेखि लगाउँदै आएको थुनुवा ज्याकेट खोलेका हुन्। त्यही क्षण पत्रकारहरूमाझ प्रतिक्रिया दिँदै मिश्रले भने, ‘अन्ततः न्यायको जित भयो। यो कानुनी शासनमा विश्वास गर्ने सबै नेपालीको जित हो।’
उनलाई इजलास नम्बर ५ मा पेश गर्न लैजाँदै गर्दा प्रहरीले ढोकाबाहिर मात्र हत्कडी फुकाएको थियो।
मिश्रले आफूविरुद्ध राज्यले मनगढन्ते आरोप लगाएको र हिंसात्मक घटनामा कुनै भूमिका नखेलेको जिकिर गरे। चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले आफू राजसंस्थाको पक्षमा उभिएको र उभिरहने बताए।
बन्दीप्रत्यक्षीकरण याचिका दायर गर्न ढिलाइ हुनुको कारणबारे उनले प्रारम्भमा राज्यबाटै न्याय पाउने आशा रहेको बताए। तर मुद्दा दुराशयपूर्वक थपिँदै गएपछि अन्ततः उनकी श्रीमती शारिका कार्कीमार्फत बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।
करिब ११ बजे अदालत पुगेका मिश्रलाई त्यसको करिब आधा घण्टापछि इजलासमा पेश गरिएको थियो। उनी थुनुवा ज्याकेटमै सुनुवाइको प्रक्रिया उपस्थित भएका थिए।