काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकले जिम्मेवारी सही ढंगले पूरा नगरेको भन्दै उनलाई बर्खास्त गर्न माग गर्दै रिट हालेकी हुन्।
पैसा लिएर भिजिट भिसा दिने प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका मानिसहरू संलग्न भएको आरोप लागेको छ। यही कारण उनले पदमा बस्न नहुने भन्दै अदालतमा उजुरी परेको हो।
यो भिसा प्रकरणमा दैनिक लाखौँदेखि करोडसम्म रकम उठाइएको भनिएको छ। यिनै आरोपहरूका कारण गृहमन्त्रीले पठाएका सहसचिव तीर्थ भट्टराईसमेत अख्तियारको छानबिनमा परेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार रिट दर्ता हुने या नहुने भन्ने निर्णय आइतबार गरिनेछ।
यसअघि शुक्रबार नै युवराज सफल नामक व्यक्तिले पनि प्रधानमन्त्री कार्यालयमा निवेदन दिँदै गृहमन्त्रीलाई हटाउन र कानुनी कारबाही गर्न माग गरेका थिए।
यो प्रकरणले सरकारकै उच्च तहमा रहेका व्यक्तिहरू भिसा कारोबारमा संलग्न भएको आशंका बलियो बनाएको छ।