काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को वैदेशिक भ्रमणसम्बन्धी खर्चमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ।
गत वर्षको जेठमा मेयर शाह फ्रान्सको कान्स फिल्म फेस्टिभलमा दुईजना निजी सल्लाहकारसहित सहभागी भएका थिए। व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल पनि भ्रमण टोलीमा महानगरकै खर्चमा सहभागी गराइएको थियो। उनीहरूलाई कर्मचारीको रूपमा भ्रमणमा लगिएको भन्दै उजुरी परेपछि अख्तियारले प्रारम्भिक अनुसन्धान थालेको हो।
यसैबीच, शाह अर्को भ्रमणका क्रममा सल्लाहकार लम्सालसहित ब्राजिलसमेत गएका थिए, जसमा समेत खर्च अनियमित रूपमा गरिएको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ।
महालेखाको रिपोर्ट: ५२ लाखभन्दा बढीको अनियमित खर्च
महालेखा परीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार काठमाडौं महानगरका पदाधिकारी र कर्मचारीहरूले विदेश भ्रमणका क्रममा ५२ लाख ५४ हजार रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा खर्च गरेका छन्। तीमध्ये ३२ लाख ७९ हजार रुपैयाँ मेयर शाह र उनका सल्लाहकारहरूको नाममा खर्च भएको देखाइएको छ।
रिपोर्टका अनुसार, स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ मा तोकिएको प्रक्रिया पालना नगरी भ्रमण गरिएको पाइयो। बुँदा ४ र ८ (१) अनुसार, महानगर प्रमुखको विदेश भ्रमणका लागि नेपाल सरकारको मनोनयन आवश्यक हुन्छ। साथै, सम्बन्धित निकायबाट औपचारिक सिफारिसबिना गरिएको भ्रमणमा सरकारी कोषबाट खर्च व्यहोर्न नपाइने स्पष्ट प्रावधान छ।
तर, प्रतिवेदनले यस्तो कुनै औपचारिक मनोनयनबिना नै भ्रमण गरिएको र खर्च महानगरपालिकाबाट व्यहोरेको तथ्य औँल्याएको छ।
अख्तियारले बयान लिइसक्यो, बालेनसँग सोधपुछ बाँकी
अख्तियार स्रोतका अनुसार, आयोगले सल्लाहकारहरू सुनील लम्साल र कुमार व्यञ्जनकारसँग बयान लिइसकेको छ। अब मेयर शाहसँग सोधपुछ गरेपछि मुद्दा दायर गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ।यदि खर्च र भ्रमण प्रक्रिया कानुनसम्मत नपाइएको पुष्टि भएमा, अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न सक्नेछ।