कतारले नेपाली कामदारलाई उचित सेवा, सुविधा उपलब्ध गराउने

arjun Business/अर्थ ब्यापार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,१६ असार । कतारले नेपाली कामदारलाई उचित सेवा, सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शिष्टाचार भेटगरी नेपालका लागि कतारका राजदुत मोहम्मद अलिअल हमरले नेपाली कामदारलाई उचित सेवा, सुविधा उपलब्ध गराउन कतार सरकार प्रतिवद्ध रहेको बताए ।

आज(शुक्रबार) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत हमरले नेपाली कामदारलाई चाहिने दैनिक उपभोग्य बस्तुको आपूर्तिमा कुनै कठिनाई नरहेको पनि जानकारी गराए । कतारमा हाल छिमेक मुलुकहरुले नाकाबन्दी लगाएपछि त्यहाँ दैनिक उपभोग्य बस्तुको समेत अभाव हुन थालेको छ । तर राजदुत हमरले नेपाली कामदारका लागि दैनिक उपभोग्य बस्तुको कमी हुन नदिन कतार सरकार लागि परेको उल्लेख गरे । कतारमा रहेका नेपाली कामदारको अवस्थाबारे राजदुत हमरसँग जानकारी लिइएको उपप्रधान तथा परराष्ट्र मन्त्री महराले जानकारी दिए । उनले कतारको छिमेक राष्ट्रसँगको समस्या वार्ताको माध्यामबाट समाधान हुनुपर्ने नेपाल सरकारको धारणा रहेको पनि उल्लेख गरे ।भेटमा परराष्ट्रमन्त्री महरा र राजदुत हमरबीच दुई राष्ट्रबीचको आपसी हितका विविध विषयमा समेत छलफल भएको थियो ।