उपत्यका भित्रको सडक संरचनालाई व्यवस्थित बनाउन सरकारलाई निर्देशन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२३ साउन । व्यवस्थापिका संसद विकास समितिले काठमाडौं उपत्यका भित्रको सडक संरचनालाई व्यवस्थित बनाउन तत्काल स्पष्ट खाका तयार पार्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले काठमाडौं उपत्यका भित्रको सडक संरचनालाई व्यवस्थित बनाउन तत्काल स्पष्ट खाका तयार पार्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पुनः निर्देशन दिएको हो ।

उपत्यकाको सडक संरचनालाई व्यवस्थित बनाउन पटक–पटक दिइएको निर्देशन कार्यान्वयनमा नआएपछि त्यसको कारण समेत खुल्ने गरी स्पष्ट खाका तयार पार्न सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए । समितिले गृह मन्त्रालय, काठमाडौं महानगरपालिकाका प्रतिनिधि समेत रहने गरी खाका तयार पार्ने कामको संयोजन गर्र्ने जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई दिएको छ ।

विकास समितिले सार्वजनिक यातायातलाई सहज, सुलभ र भरपर्दो बनाउने गरी अल्पकालीन र दीर्घकालीन योजना बनाउन विगतमा दिइएको निर्देशन पालना गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यातायात व्यवस्था विभागमा हुने सरुवा र बढुवाका कारण यातायात क्षेत्रको व्यवस्थापनमा कठिनाई हुने गरेको प्रष्टिकरण दिनु भयो । उहाँले सामान्य प्रशासन मन्त्रालयले आफ्नो मन्त्रालयलाई जानकारी समेत नदिई कर्मचारी सरुवाको काम गर्दा यातायात क्षेत्रको व्यवस्थापनको काम अलपत्र पर्ने गरेको पनि गुनासो गरे ।समितिले काठमाडौं उपत्यकाको सडक संरचनालाई व्यवस्थित बनाउन सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।