सिंहदरबार परिसरमा बन्ने भो रक्षा मन्त्रायको नयाँ भवन, प्रधानमन्त्री देउवाले गरे शिलान्यास

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा नयाँ निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको आज शिलान्यास गरे ।सिंहदरबार परिसरको दक्षिण पश्चिम नेपाली सेनाको क्याभलरी रहेको स्थानमा आगामी २०७७ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त भवन शिलान्यास गरिएकोे होे ।नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्ने राष्ट्रिय दायित्व बहन गर्ने उद्देश्यले २००८ सालमा रक्षा मन्त्रालयको स्थापना भएको थिए ।

प्रधानमन्त्री कार्यालयमा रहिआएको रक्षा मन्त्रालयको कामकारबाही भूकम्पबाट क्षति भएपछि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको भवनबाट सञ्चालन हुँदै आएको छ । राष्ट्रिय सुरक्षासँग अति संवेदनशील कार्य रक्षा मन्त्रालयको जिम्मेवारीभित्र पर्दछ ।

आफ्नै व्यवस्थित र उपयुक्त भवनको अभावमा रक्षा मन्त्रालयबाट हुने कार्यसम्पादनमा कठिनाइ हुँदै आएको थियो । सहरी विकास मन्त्रालय, सिंहदरबार सचिवालय पुनःनिर्माण समितिमार्फत निर्माण हुने रक्षा मन्त्रालय भवनको लागत रु १९ करोड ३३ लाख रहेको छ । मुख्य भ¥याङ, आपत्कालीन भ¥याङ र लिफ्टसमेतको व्यवस्था रहने १०५ कोठाको उक्त भवनमा अग्नि निरोधक प्रणालीसमेत जडान हुने बताइएको छ ।

यसै बीच भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक अनुशासनमा रहेर तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सबै पक्षलाई आफ्नो जिम्मेवारीको विषयमा सचेत रहन निर्देशन दिए  ।सिंहदरबार सचिवालय पुनःनिर्माण समितिबाट तयार गरी लागू भएको गुरुयोजनाअनुरुप नै भवन निर्माण हुनेमा विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्तरिक र बाह्य परिवेशको परिवर्तन अनुकूल प्रशासनिक संयन्त्र बनाउनका लागि दक्ष जनशक्ति, उपयुक्त प्रविधि तथा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने चर्चा गरे

रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै रक्षा मन्त्रालयले आफ्नो स्थापनाको उद्देश्यअनुरुप महत्वपूर्ण भूमिका निर्वाह गरी आएको बताए ।

काठमाडौँ–निजगढ दु्रतमार्ग निर्माणको व्यवस्थापन नेपाली सेनालाई दिइएकाले मन्त्रालयले यसलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको पनि उहाँले सो अवसरमा जानकारी दिए  ।रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले प्रविधियुक्त अत्याधुनिक भवन निर्माणपछि मन्त्रालयको काम चुस्त र व्यवस्थित हुने प्रतिबद्धता व्यक्त  गरे  ।