काठमाण्डौ,३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न आतुर रहेको बताएका छन। प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपति सीका विशेषदूत एवम् उपप्रधानमन्त्री वाङ याङसँगको शिष्टाचार भेटमा चिनियाँ राष्ट्रपतिको स्वागत गर्न नेपाल प्रतिक्षारत रहेको बताएका हुन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह भएको शिष्टचार भेटवार्तामा चिनियाँ उपप्रधानमन्त्री याङले प्रधानमन्त्री देउवालाई राष्ट्रपति सीले चाँडै नेपाल भ्रमण गर्नु हुने जानकारी गराएका थिए । त्यस अवसरमा द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री देउवाले तातोपानी नाका खुलाउन चिनियाँ सरकारको अग्रसरताको अपेक्षा गरेका थिए। दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए । उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण छिटै हुनेगरी तयारी गर्ने विषयका पनि छलफल भएको बताए ।
त्यस अवसरमा चिनियाँ उपप्रधानमन्त्रीले पनि सडक र रेलमार्गमार्फत् नेपालसँग व्यापार विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले राष्ट्रपति सी नेपाललाई साथमै लिएर अघि बढन तयार रहनु भएको सन्देश पनि प्रधानमन्त्री देउवालाई सुनाएका थिए । प्रधानमन्त्री देउवाले चीनसँग विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । चिनियाँ उपप्रधानमन्त्री याङले व्यापार, लगानी र पूर्वाधार विकासको क्षेत्रमा नेपालसँग सहकार्य गरेर अघि बढन चीन तयार रहेको बताएका थिए । ‘वान बेल्ट वान रोड’ को अवधारणा भित्र रहेर नेपालसँग सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता पनि चिनियाँ पक्षले व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी दिए।
भेटमा चिनियाँ उपप्रधानमन्त्री याङले प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निमन्त्रणा गरेका थिए । यस अघि चिनियाँ उपप्रधानमन्त्री याङले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटगरी द्धिपक्षीय सम्बन्धका आयामबारे छलफल गरेका थिए ।