‘दलहरु आफ्नो पछिल्लो पोजिसनबाट पछि नहटे संविधान संशोधन विधेयक पारित हुने’

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

धनुषा, १ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन।

आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको अध्यक्ष दाहालले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै यस्तो समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिए । बुधबार बसेको सर्वदलीय बैठकमा पनि आफूले उनीहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कार्य गर्न आग्रह गरेको जानकारी गराउँदै दाहालले पहाडका जनता पनि सहयोग गर्न आतुर रहेको बताए ।

पहाडमा भूकम्प जाँदा भूकम्पपीडितलाई तराई मधेशका जनताले दिल खोलेर सहयोग गरेको स्मरण गराउँदै उनले तराई मधेशका जनतालाई परेको विपद्को परिस्थितिमा सहयोग गर्नका लागि आह्वान गरे।एक अर्को प्रश्नमा अध्यक्ष दाहालले संविधान संशोधन विधेयक आउँदो ५ गते पारित हुने विश्वास व्यक्त गरे । नेकपा (एमाले)ले संविधान संशोधनमा समर्थन नजनाए पनि संविधान संशोधन विधेयकलाई निष्कर्षसम्म पु¥याउन सकारात्मक रहेको भनाइ थियो । उनले दलहरु आफ्नो पछिल्लो पोजिसनबाट पछि हटेनन् भने संविधान संशोधन विधेयक पारित हुने दाबी गरे ।