नेपाल पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु,नयाँ नेतृत्वका लागि भोलि निर्बाचन हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ४  भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आजदेखि काडमाडौँमा सुरु भएको छ  । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका तय गरिएको यस महाधिवेशनको  कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरे ।

भोलि  सम्म चल्ने महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका छन् । प्रतिनिधिलाई सुन्धारा, बागबजार र जमलका विभिन्न होटेलमा राखिएको छ । नयाँ नेतृत्वका लागि प्रत्येक तीन÷तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने छ ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव पनि थपिएको छ । महाधिवेशनले महासंघलाई संघीय संरचनामा लैजानेछ ।

सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिनेछ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनमा एक हजार ५१५ प्रतिनिधिको सहभागिता हुनेछ । महासंघमा करिब १० हजार पत्रकार आबद्ध छन् । रासस