संविधान संशोधन विधेयक अस्वीकृत भएपछि दलका नेताहरुले गरे यस्तो टिप्पणी…

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,५ भदौ । सत्तारुढ नेपाली काँग्रेसले संविधान संशोधन विधेयक फेरी संसदमा पेश गरेर पारित गराउने दावी गरेको छ । काँग्रेस नेता डा. प्रकाशशरण महतले विधेयक अहिले अस्विकृत भएपनि पछि यसलाई फेरी संसदमा ल्याएर पारित गराउने प्रतिक्रिया दिनु भएको हो । संविधान संशोधन विधेयक अस्विकृत भएपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विधेयकमा रहेको अन्तरभावनालाई सम्बोधन गरेर आफनो पार्टी हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाएर लैजाने पक्षमा रहेको दावी समेत गरे ।नेता महतले एमाले सहितका विपक्ष दलहरुले मुलुकमा विभाजन ल्याउने षडयन्त्र गरिरहेको आरोप पनि लगाए ।

यस्तै,संघीय समाजवादी फोरम, नेपालले भने सत्तारुढ काँग्रेसले आफ्नो स्वार्थसिद्धीका लागि संविधान संशोधन दोस्रो विधेयक फेल गराएको आरोप लगाएको छ । पार्टीका प्रमुख सचेतक डा. शिवजी यादवले सत्तारुढ काँग्रेस आफैले आफ्नो स्वार्थसिद्धीका लागि विधेयक प्रक्रियामा लगेर फेल गराएको प्रतिक्रिया दिए । विधेयक अस्विकृत भएलगत्तै संचारकर्मीहरुमाझ उनले विधेयक फेल भएपनि मधेशका जनताले आफनो माग नछाडने दावी पनि गरे । उनले प्रदेश नम्बर २ को निर्वाचन पछि मधेशको माग झनै जोडदार ढंगले अघि बढ्ने पनि बताए ।प्रमुख सचेतक यादवले तीन ठूला दल मधेशको समस्या समाधान गर्न गम्भिर नभएको आरोप पनि लगाए।

तर,प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन दोस्रो विधेयक–२०७४ फेल भएसँगै सरकारमाथि गम्भिर नैतिक संकट खडा भएको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले विधेयक फेल भएसँगै सरकारमाथि गम्भिर नैतिक संकट खडा भएको टिप्पणी गरे । विधेयक अस्विकृत भएपछि संसद भवनबाहिर संचारकर्मीहरु सँग नेम्वाङले अव संविधान संशोधन विधेयकको प्रक्रियामा मधेश केन्द्रित दलहरुले भाग लिएर संविधानलाई सर्वस्विकार्य बनाएको दावी समेत गरे ।उपनेता नेम्वाङले अव संविधान सबैको सहमतिको दस्तावेज बनेको दावी पनि गरे।