सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

arjun Others/अन्य , ७ वर्ष अगाडि

पाल्पा, ७ असोज । तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।

बुटवलबाट पाल्पातर्फ सवारी चल्न नसक्दा दशैँका यात्रु बाटामा नै अलपत्र परेका छन् । पाल्पाबाट दूध तथा तरकारी बोकेर जाने सवारीसाधन बाटामा रोकिएको स्थानीय बासिन्दा बताउँछन् । दोभान प्रहरी कार्यालयका प्रहरी हवल्दार तारा फौजाले एउटा डोजरले माटो र ढुंगा फालिए पनि पहिरो हटाउन समय लाग्ने बताउनुभयो । माटो र ढुंगासहितको पहिरो यस क्षेत्रमा वर्षेनी खस्दा जोखिम बढेको र मानवीय क्षति रोक्न नसकिएको स्थानीयवासीको गुनासो छ ।