नेपाल प्यालेष्टाइनसँग पराजित

arjun Sports/खेलकुद , ८ वर्ष अगाडि

काठमाडौँ, ८ असोज । एएफसी सोह्र वर्षमुुनि (यु–१६) छनोट फुटबलको अन्तिम खेलमा नेपाल प्यालेष्टाइनसँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा नेपाल सबैभन्दा कमजोर मानिएको राष्ट्र प्यालेष्टाइनसँग २–१ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपालको एएफसी यु–१६ च्याम्पियनसिप खेल्ने सपनासमेत चकनाचुर भएको छ ।

नेपालका लागि व्रिजेश चौधरीले एक सान्त्वना गोल गरेका थिए । यता प्यालेष्टाइनका लागि भने मोहम्मदले दुई गोल गरे । पहिलो खेलमा नेपाल इराकसँग १–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यस्तै, प्यालेस्टाइन भने यसअघिका दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा भारतसँग ३–० र दोस्रो खेलमा इराकसँग ४–० ले पराजित भएको थियो ।

प्यालेष्टाइनविरुद्ध केही लापरबाहीपूर्ण खेल खेलेका कारण नेपालले पराजय भोगेको नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले बताए। भारतसँग गोलरहित बराबरी खेलेसँगै इराक समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै सन् २०१८ मा मलेसियामा हुने एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट भएको छ । इराकले दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो ।