एमाले, माओबादी र नयाँ शक्तिबिच चुनावी तालमेल, निर्वाचन लगत्तै एकता प्रक्रिया अघि बढ्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१७ असोज । एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गर्ने सहमति भएको छ । तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति अनुसार एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहने गरि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ । पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष शर्मा ओली र माओवादी अध्यक्ष दाहाललाई राखिएको छ । पार्टीको निति , विधान र घोषणा पत्र तयार पार्न दस्तावेज समिति गठन गर्ने , निर्वाचन पश्चात विधिवत पार्टी एकता घोषणा गर्ने तथा पार्टी एकताको आधार सुदृढ गर्न सार्वजनिकरुपमा एक अर्काप्रति आलोचना तथा टिकाटिप्पणी नगर्ने सहमति पनि तीन दलबीच भएको भएको छ । आज राष्ट्रिय सभागृहमा आयोेजित पत्रकार सम्मेलनमा तीनै दलका शिर्षनेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । घोषणा सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माओेवादीसँग भएको चुनावी तालमेल र एकता कसैकविरूद्ध नभई नेपाल र नेपालीको पक्षमा भएको स्पष्ट पारे ।नेपालको सामाजिक, आर्थिक, राजनीतिक सुधारका साथै निर्वाचन उपयुक्त होस् भन्ने हेतुले पार्टी एकता गरेको पनि उनले उल्लेख गरे । अध्यक्ष ओलीले निर्वाचन पछि आउने सरकारले देशमा अवान्छित गतिविधिहरु हुन नदिने भन्दै मैत्रिपूर्ण छिमेक र अन्तराष्ट्रिय सम्बन्ध राख्ने बताए । उनले सयुक्त राष्ट्रसघको बडापत्र र पञ्चशिलको सिद्धान्त भन्दा एक अक्षरपनि तलमाथि नगर्ने प्रतिवद्धता जनाए ।आफूहरुले नयाँ अध्याय सुरु गरेको भन्दै अध्यक्ष ओलीले गठवन्धनले राष्ट्रिय सम्बृद्धिका लागि काम गर्ने बताए ।उनले सबै पार्टीका नेतालाई यो अभियानमा उत्साह र खुसीका साथ लाग्न पनि आग्रह गरे। सहमति अनुसार अब नयाँ शक्ति पार्टी र राजपाबाट अलग भएका नेता हृदयेश त्रिपाठी नेतृत्वको पार्टीले पनि अब सुर्य चुनाव चिन्हमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव लड्ने भएको छ । यस्तै माओबादी केन्द्रका अध्यक्ष दाहालले विगतमा पनि गम्भीर ढंगले पार्टी एकताको पहल भएको स्मरण गर्दैे अहिले आएर मात्रै इतिहासको चाहाना पुरा भएको बताए ।।संबिधानले परिकल्पना गरिए अनुसारको समाजवादको आधार निर्माण आर्थिक समृद्धिविना सम्भब नभएकोले २१ औ शताब्दीमा नेपाल जस्तो देशबाट एउटा समाजवादको नयाँ मोडेल तयार पार्ने र त्यसवाट बिश्वलाई नै नयाँ संन्देश दिन एकताको प्रयास गरिएको बताए ।उनले नेपाल र नेपालीको हितमा पार्टी एकता गरिने भएकाले पार्टी एकता कसैका विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे । यस्तै नया शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले दुई तिहाई बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने नेपाली जनताको आवश्यकता पुरा गर्न तीन पार्टीबीच एकता भएको स्पष्ट पारे ।