एमालेसहित तीन दलले तीन दिन भित्र प्रत्यक्षतर्फको उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१९ असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालको संयुक्त कार्य दलले तीन दिन भित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने भएका छन ।प्रत्यक्षतर्फको उम्मेदवार छनौटका लागि गठित कार्यदल र चुनावी घोषणा पत्र मस्यौदा कार्यदलको आज (विहिबार) बसेको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन भित्र उम्मेदवार चयन गर्न क्षेत्र निर्धारणको काम सन्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकमा चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम ७ भित्र सम्पन्न गर्ने सहमति पनि भएको छ । बुधबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले एमाले महासचिव इश्वर पोखरेलको नेतृत्वमा गठन गरेको कार्य दललाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने कार्यादेश दिएको थियो भने बामदेव गौतम नेतृत्वको नेतृत्वमा कार्य दल गठन गरी चुनावी घोषणा पत्र मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो । चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेका ३ दलले प्रत्यक्षतर्फको उम्मदवार बनाउँदा एमालेलाई ६० प्रतिशत र माओवादी केन्द्रलाई ४० प्रतिशत दिने सहमति गरिएको छ । सोही सहमतिलाई मुख्य आधार बनाएर उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने सहमति भएको नयाँ शक्ति पार्टी, नेपालका नेता गंगा श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार उम्मेदवार चयन र चुनावी घोषणा पत्र निर्माणका लागि आवश्यक निर्देशन दिएका थिए । दुवै दलका प्रमुख नेताहरुले कार्यदललाई आवश्यक निर्देशन पनि दिएको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए ।एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले मंगलबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।