राजविराज, २० असोज । सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन् ।
घर नजिकै रहेको नदीमा माछा मारेर खाँदा एक्कासि फैलिएको झाडापखालाको प्रकोपले तिलाठी कोइलाडी–३ सकरपुराका मनोज मण्डल र उनी श्रीमती गीतादेवी मण्डल सिकिस्त बिरामी परेकी छिन् । दुवै जनालाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको स्थानीयवासीले बताइएका छन् । बिरामी परेका एक दर्जनलाई गाउँमै राखेर जिल्ला जनस्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरी उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले.बताए ।
चेतनाको अभाव र सरसफाइमा ध्यान नदिएका कारण सकरपुरामा एक सातादेखि बढेको प्रदूषित नदीबाट माछा मारेर त्यतिकै खाने गरेकाले सो प्रकोप फैलिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । दुई महिना अगाडि जिल्लाको विभिन्न खोला र नदीमा आएको भीषण बाढीका कारण सकरपुरासहित सो क्षेत्रका हजारौ व्यक्ति बाढीबाट प्रभावित भएका थिए ।

