एक दशक पछि माउ पार्टी काँग्रेसमा फर्केका गच्छदारले आँशु राेक्न सकेनन्

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३० असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । दुबै पार्टीबीचको एकता घोषणा गर्न आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले दुबै पार्टी एकताका लागि भएको सहमति पत्र सार्वजनिक गरेका थिए।
गच्छदारले काँग्रेससँग तत्कालीन अवस्थामा केही कुरामा असहमति भएपछि बाध्य भएर २०६४ माघ १८ गते पार्टी छोड्नु परेको स्मरण गर्दै मुलुकमा बामपन्थी दलबीचको गठबन्धनले लोकतन्त्र रहने कि नरहने आशंका उब्जिएपछि लोकतन्त्रको रक्षाका लागि काँग्रेससँग पार्टी एकता गर्नुपरेको बताए ।

सम्बोधनका क्रममा आफूले पार्टी छोड्नु परेको दिन सम्झेर भावुक हँुदै केहीबेर भक्कानिनु भएका नेता गच्छदारले दुबै पार्टीबीचको यो एकताले सम्पूर्ण नेता कार्यकर्तामा उत्साह थपिने र आसन्न निर्वाचनमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरे। ०६४ माघ १८ गते कांग्रेस छाडदा गच्छदार जसरी आशु झारेका थिए, त्यसै गरी आज पार्टी प्रवेश कार्यक्रममा पनि सम्हालिन सकेनन् ।

घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं सभापति देउवाले काँग्रेस नेतृत्वमा हुने लोकतन्त्र पक्षधर पार्टीहरुको एकीकरणले काँग्रेस पहिलो स्थानको पार्टी रहिरहने र यसले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही वामपन्थी दलले लोकतन्त्रबाट विचलित हुने गरी गरेको धु्रवीकरणपछि नै काँग्रेसको नेतृत्वमा लोकतन्त्र पक्षधर पार्टीहरु समाहित हुनुपर्ने अवस्था आएको बताए।