चितवनको वाम चुनावी सभामा काँग्रेस प्रति नेताहरुको कटाक्ष,निर्वाचन पछि कम्युनिष्ट सरकार बन्ने दावी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

चितवन,५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्बाचनपछि कम्युनिष्ट सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन । कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार बन्यो भने लोकतन्त्र खतरामा पर्छ भनेर अफवाह फैलाएको भन्दै ओलीले कम्युनिष्ट सरकार बन्न अव धेरै दिन बाँकी नरहेको बताए । चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अब स्थिर सरकार बन्ने र विकासले गति लिने दाबी गरे ।

निर्वाचनअघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै उनले निर्वाचनलगत्तै पार्टी एकीकरण हुने बताए । अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उनले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गरे ।

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताए । विकास र समृद्धिको नयाँ यात्रामा आफूहरू अघि बढेको भन्दै उनले नेपालको इज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको चर्चा गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले वामपन्थीहरूको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधिन बन्ने बताए । कार्यक्रमलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाललगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको पहिलो खण्डमा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सम्पूर्ण वक्ताहरूले दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो । निकै पीडामा देखिनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा बोल्नुभएन । कार्यक्रममा दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल, प्रकाशकी श्रीमती बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि सहभागी थिए ।