चितवन, ११ माघ। चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिको क्यामेरा हराएका छन् ।बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु यसरी हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा कतिपय क्यामेरा बाघले समेत लगेको पाइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । “कतिपय मानिसले के रहेछ भनेर नयाँ देखेर लाने गरेको पाइयो, कतिपय तस्करले पनि लगेको आशंका छ”–अर्यालले भन्नुभयो ।
पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामेरा हराएको छ । यस्तै दोस्रो ब्लकमा राखिएका क्यामेरामध्ये २६ वटा क्यामरा हराएको र तेस्रो ब्लकमा राखिएका क्यामेरामध्ये सातवटा हराइसकेको छ । त्यसमा २५ वटा क्यामरा हात्तीले फुटाएको पाइएको छ । दुईवटा बाघले लगेको बताइएको छ । ४० वटा क्यामरा मानिसले लगेका छन् ।
त्योबाहेक मान्छेले लगेको तीनवटा क्यामरा फिर्ता आएको छ । चितवनको कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ । बुधबारमात्रै रौतहटमा एउटा क्यामरा फेला परेको थियो ।

