काठमाडाैँ ,१५ भदाै । नुवाकोट शिवपुरीका अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म बोलेर नेपालको तर्फबाट नयाँ विश्व कीर्तिमान रचेका छन् । ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले बिहिवार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।
केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । उनले केही महिना अघि लगातार ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए । केसीले बिहिबार दिउँसो ३ बजेर ३२ मिनेटमा नै उक्त रेकर्ड तोडेका थिए ।
गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिध स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिवार नै केसीलाई विश्व कीर्तिमान कायम गरे बापत् गिनिज वल्र्ड रेकर्डस्को प्रमाण पत्र हस्तान्तरण गरे ।
राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार विहान सवाँ ६ बजे देखि बोल्न शुरु गरेका केसीको प्रवचन विहिवार मध्यरातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । केसी हाल अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा सक्रिय छन् ।

