नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।
नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो । खेलको १७ औं मिनेटमा नेपालका अनन्त तामाङको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमानले मुस्बिलले बचाउँदा नेपालले कर्नर पायो ।
त्यसपछि सुनील बलले प्रहार गरेको कर्नर बंगलादेशी खेलाडीले क्लियर गर्न सकेनन् । त्यसैमा अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको यो राष्ट्रिय टिममा पहिलो गोल हो ।
नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।
नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।

