काठमाडाैं,८ भदाै । नेकपा एमालेले पार्टी एकतामा आए कारबाही फिर्ता हुने जनाएकाे छ । एमालेले नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा यही भदौ १ गते पत्र पठाएको थियो । आजको बैठकले एकता प्रक्रियामा सामेल भएमा कुनै पूर्वाग्रह र कारबाही नगरिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
पार्टीमा दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले दिएको सुझाव प्रतिवेदनमा वरिष्ठ नेता नेपालले शक्ति बाँडफाँट र विगतमा भएका कमजोरीलाई नेतृत्वले महसुस गर्नुपर्नेलगायत अडान राखेपछि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।
अध्यक्ष ओलीले पनि आफ्नो नेतृत्वको सरकारलाई हटाएर विपक्षी गठबन्धन बनाएर नयाँ सरकार गठनका लागि हस्ताक्षर र सर्वाेच्च अदालतमा पुग्ने जस्ता नेपाल पक्षका कार्य क्षम्य नहुने जनाउँदै आएका थिए ।
नेता नेपालले यही भदौ २ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । सो निवेदनमाथि यही भदौ ९ गते सनाखत हुने तय भएको छ । प्रतिनिधिसभाको विघटन र पुुनःस्थापना, नेकपाभित्रको विवाद, एमाले र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् स्थितिमा फर्काउने सर्वाेच्च अदालतको फैसलायताका घटनामा एमालेभित्र विवाद उत्पन्न हुँदै आएको थियो ।
एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलमा संसदीय दलका उपनेता नेम्वाङ, उपाध्यक्ष डा रावलसहित थिए ।
आजको बैठकका निर्णय र यसको दूरगामी परिणाम, समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे जानकारी दिन बुधबार पार्टीका अध्यक्ष ओलीलगायत नेताको उपस्थितिमा पत्रकार सम्मेलन गरिने एमालेले जनाएको छ ।

