मन्त्रिमण्डलले पूर्णता नपाउँदै बित्याे देउवा सरकारकाे दुई महिना

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ ।

साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान गर्ने गहन जिम्मेवारी भने प्रधानमन्त्री देउवाकै काँधमा छ । अर्कातर्फ मुलुक कोभिड–१९ महामारीको कहरमा गुज्रिरहेका बेला नयाँ सरकार निर्माण भएकाले पनि यो सरकारलाई काम गर्न त्यति सजिलो भने छैन ।

पाँच दलीय गठबन्धनको सहयोगमा काग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । यो सरकार निर्माणसँगै देश कोभिड कहरको मारमा परेको मात्र नभएर देशमा प्राकृतिक विपद्का घटना पनि भइरहेका थिए । यो बीचमा मुलुकले बाढी, पहिरो, डुबानको क्षति पनि झेल्नु प¥यो ।

कोभिड रोकथाम र बाढीपीडितको उद्धार एवं राहतमा विशेष ध्यान दिनुपर्ने कठिनाइलाइ चिर्दै नागरिकका प्रत्यक्ष सरोकारमा नीहित अन्य विषयमा पनि ध्यान दिनुपर्ने अप्ठ्यारो परिस्थितिका बीच देउवा नेतृत्वको सरकारले दुई महिनामा जनताको सरकारका रुपमा केही सुधारात्मक काम भने गरेको छ ।

 सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कठिन परिस्थितिकाबीच नेतृत्व सम्हालेको वर्तमान सरकारले जनचाहन र राष्ट्रको हित अनुकूलका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

कोभिड महामारीबाट शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै जनताको दैनिक जीवनयापनलाई क्रमशः सहज तुल्याएर राष्ट्रको समृद्धिमा जुट्नुको विकल्प नभएको उनको भनाइ छ । नयाँ सरकारसँग आम नागरिकको बढी नै आकाङ्क्षा थियो तर सबै जनचाहना पूरा गरिहाल्ने बेला भने भएको छैन । यस अवधिमा देउवा सरकारले केही आशा जगाउने खालका कदमको भने सुरुआत गरेको देखिएको छ ।

मन्त्री कार्कीले भने, “निश्चय पनि गठबन्धन सरकारका आफ्नै बाध्यता र विवशता नभएका होइनन् । एकलरुपमा आफ्नो पार्टीको घोषणापत्रअनुरुप चाहेको काम गर्न सकिँदैन । सबैलाई मिलाएर लैजानुपर्ने बाध्यता छ । साधन र स्रोतको सीमितताकाबीच सरकारले जनताको पक्षमा कार्यको थालनी गरिसकेको छ ।