काठमाण्डौ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप प्रधानमन्त्री शेरबहादुर देउवाले लगाएका छन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर ओलीको गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका हुन ।
भातृसँगठन नेपाल तरुण दलको स्थापना दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले भने ‘परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको प्रधानमन्त्री देउवाको दाबी छ । साथै देउवाले अदालतबारे जथाभावी नबोल्न ओलीलाई चेतावनी समेत दिएका छन ।
एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए । ओलीले जेठ ६ गते दोस्रो पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
परमादेश जारी गर्ने पाँचजना न्यायाधीशमाथि ओलीले प्रश्न उठाएपछि प्रधानमन्त्री देउवा बचाउमाा उत्रिएका हुन । मंगलबार काँग्रेस शीर्ष नेताको बैठकमा पनि प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गरेका थिए ।
न्यायालयमा उठेको सवालका सन्दर्भमा सत्तारुढ गठबन्धनमा छलफल हुने देउवाको भनाइ छ । ‘५ पार्टीको गठबन्धन सरकार छ । न्यायालय सम्बन्धमा उठेका जे सवालहरूमा सरसल्लाह, छलफल गर्नेछौं,’ उनले भने ।
प्रधानमन्त्रीले चर्को विरोधपछि उद्योगमन्त्रीबाट राजीनामा दिएका गजेन्द्र हमलाको पनि बचाउ गरेका छन । ‘गजेन्द्र हमाल हाम्रो पार्टीको मान्छे हो । बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिनुभयो । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएको उठाएकै छन,’ देउवाले भने । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको विवाद अदालतले नै समाधान गर्ने बताएका छन ।

