चैत मसान्तभित्र सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

Lok Bhatta Banner Headline with Image , News/समाचार , स्वास्थ्य , ४ वर्ष अगाडि

सरकारले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई खोप लगाउने तयारी गरेको  छ । विगतमा खोप लगाउन छुटेकाहरूले स्थानीय तहमा पुगेर तोकिएको नजिकको खोप केन्द्रबाट लगाउन सक्नेछन् । पुस मसान्तभित्र नै अधिकांशलाई खोप लगाइने छ  । चैत मसान्तसम्म देशभर खोप लगाएर सकिने लक्ष्य स्वास्थ्य मन्त्रालयले राखेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई लक्षित गर्दै भेरोसेल खोप लगाउने तयारी गरिएको जानकारी दिएका छन् । उनका अनुसार यसअघि लक्षित वर्गलाई विभिन्न चरणमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो । अब भने १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणले खोप लगाउन पाउनेछन् ।

मन्त्रालयको तथ्यांकअनुसार ३० प्रतिशत जनंख्यालाई पहिलो डोज र २६ प्रतिशतलाई दोस्रो डोजको खोप प्रदान गरिसकिएको छ । अझै दुई करोड १७ लाखभन्दा बढी व्यक्तिले खोप लगाउन पाएका छैनन् । उनीहरूलाई लक्षित गरी यो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले भेरोसेल र एस्ट्राजेनिका खोप विभिन्न स्वास्थ्य कार्यालय र स्थानीय तहलाई दिइसकेको छ । उपत्यकाभित्र नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, कलंकीको सहिद मेमोरियल अस्पताल,  गोंगबुस्थित नयाँ बसपार्कको लोत्से भवन, बल्खुमा रहेको बयोधा अस्पताल र जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रबाट नियमित खोप प्रदान गरिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार सबै नागरिकमा  सहज तरिकाले खोप वितरण गर्न यही मंसिर ५ देखि आउँदो पुस ५ गतेसम्म काठमाडौंका तोकिएका केन्द्रमा प्रत्येक दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म केन्द्रबाट कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका र भेरोसेल खोप दिइनेछ ।