उल्लासमय वातावरणमा हाेली पर्व मनाइँदै

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं ।फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन।

हिमाली र पहाडी जिल्लामा फागुपर्व आज र तराई मधेसका जिल्लामा भाेलि मनाइँदैछ ।

यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । होलीकै अवसरमा पशुपतिनाथलाई बिहानै भक्तजनले लोला प्रहार गरेर अबिर चढाएका छन् ।

कतिपयले यस दिनलाई बिग्रिएको सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि सदुपयोग गर्छन् ।

यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ । यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ ।

होली सुरु भएको सङ्केतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो ।