दुई पक्षबीचको झडपमा परी जसपा सांसद साह गम्भीर घाइते

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नंं. १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका छन् ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका साहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ ।
झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक (असइ) विनोदप्रसाद यादव पनि घाइते भएका छन् । यस्तै, सांसद साहको गाडीमा तोडफोड भएको छ भने केही मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।
बयलवास बजार क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी जनकराज ढुङ्गानाले अवस्था सामान्य भइसकेको बताउनुभयो ।
फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत बयलवास बजार क्षेत्रमा रहेको फूलजोर युवा क्लबको भवन निर्माणको विषयमा सांसद साह पक्ष र स्थानीयवासीबीच विवाद चल्दै आएको थियो ।

सडक विस्तारका क्रममा क्लबको भवन भत्किएपछि स्थानीयवासीले पुनः त्यहीँ भवन बनाउनुपर्ने माग गरिरहेका थिए भने सांसद साहले भने भवन अब अन्यत्र सार्नुपर्ने अडान लिएका थिए ।
सांसद साहले भवन अन्यत्र सार्नुपर्ने मागसहित शनिबार बिहानै बयलवास बजार क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि स्थानीयले प्रतिकार गर्दा झडप भएको हो ।