काठमाडाैं । काठमाडौं उपत्यकामा ९ जनालाई हैजा देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म ९ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भएकाे छ ।नैकाप र पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएका छन् ।
जार,बाेतल र टयांकरकाे पानीबाट पनि हैजा सरेकाे हुन सक्ने अनुमान गरिएकाे छ । तसर्थ आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ । धेरै स्थानमा हैजाका बिरामी देखा पर्न थालेकाले यसले महामारीकै रुप लिने हाे कि भन्ने अाशंका गरिएकाे छ। चिकित्सकहरूले फिल्टर भएकाे र उमालेकाे पानी खान सल्लाह दिएका छन् ।
उता, ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ ।काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो । बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए ।