काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेकाा छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले कतिपयले केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको जानकारी दिए ।
यस्तै बैठकले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीनजनाको सुझाव समिति गठन गरेको पनि प्रवक्ता महराले बताए ।
त्यस्तै, बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ ।
बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको पनि बताए ।प्रवक्ता महराले पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी गरे ।