काठमाडाैं । इन्धनकाे मूल्य घटेर आए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य नघटाउने भएको छ। पेट्रोलियम पदार्थको नयाँ मूल्य तेस्रो पटक घटेर अाउँदा पनि अझै मासिक घाटा रहेकाे भन्दै निगमले भाउ नघटाउन निर्णय गरेकाे छ ।भारतले हरेक १५ दिनमा नयाँ मूल्यसूची नेपाललाइ बुझाउने गरेकाे छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले मंगलबार पठाएको नयाँ मूल्य अनुसार निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको थियो।
आएपनि निगमलाई अझै मासिक ६२.५८ करोड रुपैयाँ घाटा हुने भएकाले मूल्य यथावत राखिने निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै पछिल्लो समय तीन पटकसम्म लगातार आइओसीबाट पेट्रोलियमको मूल्य घटेर आएको हो। यसँगै निगमलाई पेट्रोलमा करिब ४ रुपैयाँ नाफा हुनेछ। तर डिजेलमा अझै प्रति लिटर करिब ५ रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ।
यसका लागि यही मूल्यलाई यथावत राख्नुपर्ने निगमको दाबी छ। यही मूल्य कायम रहिरहे आगामी १५ दिनमा निगमको घाटा खुम्चिएर ३१ करोड रुपैयाँ मात्र हुनेछ।

