राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणमा,राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदाई गरे ।   यसअघि उनलाई सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् ।   राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।  

यसैबीच, राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी ताेकेकी छिन् । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि साेमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।