‘गुण र दोषका आधारमा सरकारको मूल्याकंन हुन्छ’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडाैं ।नेपाली कांग्रेसका प्रवक्ताद्वय गगन थापा र विश्वप्रकाश शर्माले गुण र दोषका आधारमा सरकारको मूल्याकंन गर्ने बताएका छन्। 

थापा र शर्माले एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौं। तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं। हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन।’

विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसमा आज जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न। पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नैपर्छ, अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नैपर्छ। त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनै पर्नेछ।’ 

राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने विज्ञप्तिमा उल्लेख छ। अहिलेको परिस्थितिलाई संकटका रूपमा लिएर हताश हुने छुट आफूहरुलाई नभएको विज्ञप्तिमा भनिएको छ।