काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका छन् । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका हुन् ।
केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ । शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन र नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न पनि निर्देशन दिए ।राष्ट्रिय परिचयपत्र एवम् राहदानी वितरणमा सहजीकरण गरी काठमाण्डौ आउन नपर्ने वातावरण सिर्जना गर्न पनि उनले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।
१५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन पनि गृहमन्त्रीले निर्देशन दिनुभएको गृहमन्त्रालयका सहसचिव भीष्मकुमार भूसालले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिए । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्तालाई कुनै खालको संरक्षण हुन नदिन पनि गृहमन्त्रीले निर्देशन दिए ।

