काठमाडाैं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा १ सय मत खसेको थियो ।
मतदानमा दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् । मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेका घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे ।
एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो । विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए ।
उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज पनि छन् । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

