काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पार्नुभयो ।
“देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भन्नुभयो । नेकपा (एमाले) पाँचथरले आज फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताउनुभयो ।
“अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भन्नुभयो, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।”
कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताउनुभयो । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले अनुशासित, सङ्गठित र व्यवस्थितरूपमा पार्टी पङ्क्तिलाई सक्रिय गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

