आगोले जलेर ४ जनाको मृत्युपछि गाउँ नै शोकमा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि


अर्घाखाँची ।आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो । कोरियाबाट रोजगारी गरेर घरमा आएका ३६ वर्षीय माधव बेल्वासे घर नजिकै लागेको निभाउन जानुभयो ।

आगो निभाउने क्रममा घाइते माधवको उपचारका सिलसिलामा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उहाँको मृत्यु भएपछि घरमा रहेका २६ वर्षीया श्रीमती राधा बेल्वासे र नाबालक दुई छोराको बिचल्ली भएको छ । छोरा अढाइ वर्ष र एक वर्षका छन् । कमाउने र केही गर्ने छोरा गयो ६८ वर्षीया आमा गिरी बेल्वासेले भक्कानिँदै भन्नुभयो, “साना छोरा र बुहारीको यो अवस्था हाम्रो त विचल्ली भयो ।”

मङ्गलबार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएकामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा तथा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।

आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पीताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पद्म बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा पुगेपछि र ३६ वर्षीय माधवको उपचारका क्रममा मृत्युु भएको उपचारमा संलग्न स्थानीय विष्णु बेल्वासेले बताउनुभयो । आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ ।