काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त टोपबहादुर रायमाझीको प्रतिरक्षाका लागि बहस गरेका कानुन व्यवसायीहरूले टेकनाथ रिजालको बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न नहुने दाबी गरेका छन् ।
भुटानी शरणार्थीका नेता एवं प्रकरणमा सहभियुक्त रिजालको मानसिक स्थिति ठीक नभएको दाबी गर्दै रायमाझीका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता रमेश वडाल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रकम लिई ठगीसहितका कसुरमा अभियोग लागेका रायमाझीलाई रिजालले प्रहरी र अदालत समक्ष दुवै बयानमा पोलेका थिए ।
रिजालले प्रहरी समक्ष एकथरी बयान र अदालत सामु अर्कोथरी बयान गरेको भन्दै उनले बोल्न चाहेको कुरा स्पष्ट बोल्न नसक्ने दाबी गरे ।
त्यस्तै बडालले रिजालका अन्य निर्वासन, माईन्ड कन्ट्रोल नामक किताबहरूमा पनि आफूलाई भएको उत्पीडन पश्चात आफ्नो मानसिक स्थिति बेला–बेला असन्तुलित हुने र आफू आफ्नै काबुमा नरहने लेखेको समेत उल्लेख गरे ।
बडालले रिजालको बयानको आधारमा रायमाझीलाई मात्र नभएर कसैलाई पनि अभियोग लगाउन नमिल्ने दाबी गरिरहे । रिजालले आफ्नो मानसिक स्थितिको बारेमा आफैले लेखेको किताबमा उल्लेख गरेको कुरा प्रमाणमा दिन मिल्ने जिकिर लिए ।
त्यस्तै, रायमाझीका अर्का कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि मानसिक स्थिति ठिक नभएका रिजालको बयानलाई आदार मान्न नमिल्ने बताए ।
उनले रिजालको बयानमा मात्र नभएर विभिन्न निकायहरूलाई विगतमा दिएका सल्लाह सुझावमा पनि एकरुपता नदेखिएको दाबी गरे । अदालत समक्षको बयानमा उनले प्रचण्डसहितको नाम लिएको कानुन व्यवसायीहरूले दाबी गरेका हुन् ।

